९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

Radio Khabar Palika

उच्च अदालत विराटनगर धनकुटा इजलासमा ७५ प्रतिशत मुद्दा फर्छ्यौट



८, जेठ, धनकुटा ।उच्च अदालत विराटनगर धनकुटा इजलासले चालु आर्थिक वर्ष २०८२र०८३ को हालसम्म करिब ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको छ । अदालतले शुक्रबार पत्रकारसँग अन्तरक्रिया गर्दै साउनदेखि जेठ ७ गतेसम्म दर्ता तथा जिम्मेवारी सरेका गरी कुल ३ सय २५ थान मुद्दामध्ये २ सय ४६ थान टुंगो लगाइएको जानकारी दिएको हो। अदालतका अनुसार फर्छ्यौट भएका मुद्दाको दर ७५ दशमलव ६९ प्रतिशत पुगेको छ। यो तथ्यांकमा अघिल्लो अवधिबाट जिम्मेवारी सरेका ३५ र नयाँ दर्ता भएका २ सय ९० मुद्दा समेटिएका छन्। अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेका र ६ महिना नाघेका ४ वटा मात्रै मुद्दा बाँकी रहेको मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिए । सरकारवादी फौजदारीतर्फ जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दाको चाप बढी रहेको उनको भनाइ छ। तर उच्च अदालत मातहतका जिल्ला अदालतको अवस्था भने समान देखिएको छैन। उपलब्ध विवरणअनुसार धनकुटा जिल्ला अदालतले ७५ दशमलव ४७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको भए पनि केही जिल्लामा दर उल्लेख्य रूपमा कम छ।


तेह्रथुम जिल्ला अदालतले ६९ दशमलव ०६ प्रतिशत, भोजपुर जिल्ला अदालतले ४९ दशमलव ६६ प्रतिशत र सङ्खुवासभा जिल्ला अदालतले ४२ दशमलव २१ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट गरेका छन्। संख्यागत रूपमा हेर्दा धनकुटामा ६ सय ८१ मध्ये ५ सय १४, तेह्रथुममा ३ सय ३३ मध्ये २ सय ३०, भोजपुरमा ४ सय ४५ मध्ये २ सय २१ तथा सङ्खुवासभामा ५ सय ५८ मध्ये ३ सय २३ मुद्दा टुंगिएका छन्। न्याय सम्पादनमा गति आएको अदालतको दाबी भए पनि जिल्ला तहमा रहेको असमान फर्छ्यौट दरले सेवा प्रवाह र न्यायमा पहुँचका विषयमा थप बहसको आवश्यकता देखाएको जानकारहरु बताउछन ।