
६ बैशाख ,धनकुटा । कोशी प्रदेशका गाउँ–सहरबाट आएका सयौं युवापुस्ताको प्रतिभा प्रतिस्पर्धामा उत्रिएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७’ अन्ततः चार विजेतासँग टुंगिएको छ। करिब १० महिनासम्म चलेको छनोट र प्रतिस्पर्धाको यात्रापछि धनकुटाको तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न ग्राण्ड फाइनलले नयाँ सम्भावनाका चार अनुहार सार्वजनिक गरेको हो। यस संस्करणको विशेषता भनेकै सहभागिताको व्यापकता र प्रतिस्पर्धाको तीव्रता रह्यो।

१४ जिल्लाबाट ६ सय सहभागीमध्ये ३१ जना मात्र अन्तिम चरणमा पुग्दा प्रतिस्पर्धा कत्तिको कडा थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ। अन्ततः गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापा कै सुम्निमा राई तथा नृत्य सिनियरतर्फ पाचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजेता घोषित भए।यसैगरी, गायनतर्फ पाँचथरका पबन राई दोस्रो र झापाकी दिव्या लाम्गादे तेस्रो भएका छन् । नृत्य जुनियरतर्फ झापाकी समता श्रेष्ठ दोस्रो र पाँचथरका याण्ङछुम जवेगु र सोनाक्षी मगर पाँचथर तेस्रो स्थान प्राप्त गरेका छन भने नृत्य सिनियरतर्फ मोरङकी गरिमा मगर द्धितिय र कल्चर भाइब्स ग्रुप धनकुटा र पाचँथरकी चाँदनी जवेगु तृतिय बन्न सफल भए । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा र रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनलमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक सुमन योगीले बताए ।

प्रतियोगिता अन्तरगत गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा प्रदान गरिएको छ । नृत्यतर्फ भने दुई उमेर समुहकैलाई प्रथमलाई जनहि २ लाख ५० हजार तथा दास्रो हुनेलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । तेस्रो हुनेलाई जनही २५ हजार प्रदान गरिएको छ । प्रतियोगिताको नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर तथा गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राई निर्णायक रहेका थिए ।

यो प्रतियोगिताले केवल विजेता उत्पादन मात्र गरेन, ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय मञ्चतर्फ डोहोर्याउने पुलको रूपमा पनि काम गरेको आयोजकको दाबी छ। निर्णायकबाट ५० प्रतिशत र दर्शक भोटिङबाट ५० प्रतिशत अंक दिने प्रणालीले प्रतियोगितालाई थप पारदर्शी र दर्शकमैत्री बनाएको देखिन्छ।
पुरस्कार राशिमा समेत यसपटक उल्लेख्य वृद्धि गरिएको छ। गायनतर्फ विजेताले नगद ५ लाख रुपैयाँसँगै सोही बराबरको जीवन बीमा, म्युजिक रेकर्डिङ अवसरलगायत सुविधा पाउँदा नृत्यतर्फका विजेताले जनही २ लाख ५० हजार रुपैयाँ हात पारेका छन्। यसले प्रतियोगितालाई केवल सम्मानको मात्र नभई करियर निर्माणको अवसरका रूपमा स्थापित गरेको छ। प्रतियोगिताको फाइनलमा चर्चित कलाकार डिजराज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी बिराट तामाङ, जुनी खालिङ राई, दिनेश भारती प्रस्तुति मुख्य आकर्षण रह्यो, जसले कार्यक्रमलाई थप ऊर्जा प्रदान गर्यो।
टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा र रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको यो प्रतियोगिता विगत एक दशकदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अब केवल प्रतिस्पर्धा नभई पूर्वी नेपालका युवाहरूका लागि सपनालाई मञ्चमा उतार्ने माध्यम बन्दै गएको छ।

