५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

Radio Khabar Palika

‘चियासँग कविता’ धनकुटामा शब्द र सुरले बनाएको सांस्कृतिक मञ्च



विदुर खवास

  • News Summary Generated by AI
  • ‘चियासँग कविता’ ले परम्परागत कविता वाचनलाई तोड्दै शब्द, संगीत र अभिनयको संयोजनमार्फत नयाँ सांस्कृतिक अभ्यास स्थापित गरेको छ।
  • ५५औँ शृङ्खलामा कवि उत्तम तुम्सा र डिआर फुयलका कविता तथा तेजेन्द्र गन्धर्व र निरुता राईका गीतले कार्यक्रमलाई जीवन्त बनाए।
  • कार्यक्रम अन्तरक्रियात्मक शैलीमा सञ्चालन भई दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ। मन्त्री इन्द्रमणी पारजुलीले प्रशंसा गर्दै १० हजार सहयोग घोषणा गरे; कार्यक्रम अहिले नियमित रूपमा सञ्चालन हुँदै सांस्कृतिक आन्दोलनको रूपमा विकास हुँदैछ।

५ वैशाख, धनकुटा । सामान्यतया कविता वाचन शान्त, औपचारिक र सीमित घेराभित्र हुने गर्छ। तर धनकुटामा चलिरहेको ‘चियासँग कविता’ कन्सर्टले यो परम्परागत धारणा तोड्दै कवितालाई मञ्चीय प्रस्तुतिसँग जोडेर नयाँ सांस्कृतिक अभ्यासको रूपमा स्थापित गर्न थालेको छ।
शुक्रबार धनकुटास्थित हाम्रो बहुमुखी पाठशालाको प्राङ्गणमा देखिएको दृश्य केवल कविता वाचनमा सीमित थिएन त्यहाँ शब्द, संगीत र अभिनयको मिश्रणले एक किसिमको ‘लाइभ आर्ट’ को अनुभूति गराइरहेको थियो। सारंगीको मधुर धुनसँगै कविताहरू प्रस्तुत भइरहँदा दर्शक कहिले भावुक, कहिले उत्साहित बन्थे। कविहरूको शारीरिक अभिव्यक्ति, मञ्चमा गरिने नाटकीय प्रस्तुति र दमाहाको प्रयोगले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।


धनकुटा एफ.एम. १०६.२ मेगाहर्जको आयोजनामा सम्पन्न कन्सर्ट ‘चियासँग कविता’ को ५५औँ शृङ्खला हो। कार्यक्रममा कवि उत्तम तुम्सा र डिआर फुयलले करिब एक दर्जन कविता प्रस्तुत गरे भने गायक तेजेन्द्र गन्धर्व र गायीका निरुता राईले आधा दर्जन गीतमार्फत माहोललाई संगीतात्मक उचाइ दिए।
यो कार्यक्रमको विशेषता भनेको सहभागीहरू केवल दर्शक भएर बस्दैनन्, उनीहरू प्रस्तुत गरिने हरेक शब्द र धुनसँग भावनात्मक रूपमा जोडिन्छन्। यही अन्तरक्रियात्मक शैलीले ‘चियासँग कविता’ लाई परम्परागत साहित्यिक गोष्ठीभन्दा फरक बनाएको छ।


कोश िप्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पारजुलीले कार्यक्रममा आक्रोश, रोदन र प्रेमका विविध भाव मिसिएका कविता सुन्न पाएको मा खुशि व्यक्त गरे । उनले यस्ता खाले कविताले दर्शकलाई गहिरो रूपमा छोइरहेको बताए । पछिल्लो समय यस्तो कार्यक्रमले धनकुटामा साहित्यिक वातावरण सिर्जना गर्दै नयाँ पुस्तालाई पनि आकर्षित गरिरहेको उनको भनाई छ । कन्सर्टमा बोल्दै पराजुलीले साहित्य समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए। उनले अक्षय कोषका लागि १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए। २०८१ माघ महिनामा केही साहित्यप्रेमीहरूको अनौपचारिक भेटबाट सुरु भएको यो अवधारणा २०८१ फागुन २ गतेदेखि नियमित रूपमा हरेक शुक्रबार सञ्चालन हुँदै आएको छ। रेडियो धनकुटा एफ.एम.का अध्यक्ष गोपाल बराइलीका अनुसार यसले फरक–फरक पेसामा व्यस्त व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्ने काम गरेको छ। कार्यक्रममा कविता, गजल, मुक्तक र गीत प्रस्तुत गर्ने खुला अवसर दिइन्छ। प्रत्येक शृङ्खलामा फरक व्यक्तिको अध्यक्षता रहने व्यवस्था गरिएको छ, जसले कार्यक्रमलाई अझ समावेशी बनाएको छ। फागुन १ गते ५०औँ शृङ्खला पूरा गर्दै पहिलो वार्षिकोत्सव मनाइएको थियो। सो अवसरमा उत्कृष्ट सिर्जनाहरूलाई सम्मान गर्नुका साथै ‘चियासँग कविता’ संग्रह पनि प्रकाशन गरिएको थियो। साथै कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न अक्षय कोष स्थापना गरिएको अध्यक्ष बराईलीले जानकारी दिए । धनकुटामा हरेक हप्ता सञ्चालन हुने ‘चियासँग कविता’ अहिले केवल साहित्यिक कार्यक्रम मात्र नभएर एउटा वैकल्पिक सांस्कृतिक आन्दोलनको रूपमा विकास हुँदै गएको छ। जहाँ शब्दले संगीतसँग हातेमालो गर्छ, र दर्शक केवल सुन्ने होइन, महसुस गर्ने यात्रामा सहभागी बन्ने गरेको अध्यष बराईलीले जानकारी दिए ।