
१२ चैत्र, धनकुटा । भोजपुरको रामप्रसाद राई गाउँपालिका र झापाको कनकाई नगरपालिका धनकुटाको हिलेमा जारी १८औँ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
हिले भलिबल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा रामप्रसाद राई गाउँपालिकाले धनकुटाको पाख्रिवास नगरपालिकालाई कडा प्रतिस्पर्धामा पराजित गर्दै फाइनल यात्रा तय गर्यो। निकै रोमाञ्चक बनेको खेलमा रामप्रसादले २५–१६, १५–२५, २२–२५, २७–२५ र १५–११ को सेटमा जित निकाल्यो।त्यस्तै, दोस्रो सेमिफाइनलमा झापाको कनकाई नगरपालिकाले भोजपुरको षडानन्द नगरपालिकालाई १७–२५, २५–२३, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङका अनुसार फाइनल खेल शुक्रबार दिउँसो १ बजे हुने छ।प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाउनेछ। कोशी प्रदेशका ९ वटा पालिकाको सहभागिता रहेको यो प्रतियोगिता २०५५ सालदेखि हरेक वर्ष रामनवमीको अवसरमा सञ्चालन हुँदै आएको छ।







