
६ चैत्र,धनकुटा। शक्तिशाली आँधी, असिना र चट्याङ पर्ने सम्भावना बढेपछि धनकुटामा सशस्त्र प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
जिल्लाको बजार तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलले माइकिङ गर्दै सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न अपिल गरेको हो। सम्भावित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनसक्ने भन्दै सुरक्षा निकायले पूर्वसावधानी अपनाउन आग्रह गरेको जनाएको छ।
आँधी–हावाहुरीका बेला रुख ढल्ने, घरका छाना उड्ने तथा चट्याङ पर्ने जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छिन्ताङ गुल्म धनकुटाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिए । साथै, स्थानीय प्रशासन र सुरक्षा निकायले आवश्यक परे थप तयारी अवस्थामा रहने जनाएको छ।







