१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

Radio Khabar Palika

धनकुटा अस्पतालमा ब्लड बैंक स्थापना हुने, उपकरण खरिद गर्ने निर्णय



१ चैत्र, धनकुटा। जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा स्थापना हुने ब्लड बैंकका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय गरिएको हो। आइतबार बसेको ब्लड बैंक खरिद इकाई समितिको बैठकले अस्पतालमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको समितिका संयोजक ठगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। बैठकले ब्लड बैंक सञ्चालनका लागि आवश्यक करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको उपकरण खरिद गर्ने निर्णय गरेको हो।
समितिले आवश्यक उपकरण खरिदका लागि सूचना प्रकाशन गर्ने र आवश्यक सामग्रीको व्यवस्था गर्ने प्रस्ताव पनि पारित गरेको छ। जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएपछि धनकुटासहित आसपासका जिल्लाका बिरामीलाई ब्लड उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ। यसले आकस्मिक तथा जटिल उपचारमा महत्वपूर्ण सहयोग पुग्नेछ । बैठकमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाको ब्यवस्थापनमा धनकुटा अस्पतालमा स्थापना गरिने ब्लड बैंकका लागि गैरआवसीय नेपाली संघको सचिवालय (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पहलमा १६ लाख ४५ हजार रुपैया संकलन भएको थियो । उक्त ब्लड बैक स्थापनाका लागि आवश्यक सहयोग जुटाउने क्रम जारी रहेको खरिद इकाई समितिका सदस्य तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए । सहयोगका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाको खातामा सहयोग रकम जम्मा गर्न सकिने उनले जानकारी दिए ।