
धनकुटा, फागुन १५ । जिल्ला प्रशासन कार्यालय धनकुटा ले फागु पूर्णिमा (होली) पर्व मर्यादित र सभ्य रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै चाडपर्व मनाउने नाममा कसैको इच्छाविपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबर्जस्ती गर्ने, मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा ठूलो आवाजमा बाजा बजाउने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न अनुरोध गरेको छ।
यस्ता गतिविधिले व्यक्तिगत स्वतन्त्रता तथा सार्वजनिक शान्ति सुरक्षामा असर पुग्न सक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेकाे छ । साथै, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि नगर्न पनि प्रशासनले ध्यानाकर्षण गराएको छ।
प्रचलित कानुनविपरीतका गतिविधि गरे/गराएको पाइएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले होली पर्व सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाई सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेको छ।







