
- प्रतिनिधिसभा निर्वाचन अवधिभर धनकुटामा मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाइएको।
- अन्तिम मत परिणाम घोषणा नभएसम्म प्रतिबन्ध कायम रहने निर्णय जिल्ला प्रशासन कार्यालय धनकुटाको।
- निर्देशन उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी।
१५ फागुन,धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले धनकुटामा मदिराजन्य वस्तुको उत्पादन, बिक्रीवितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले सूचना जारी गर्दै निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्म जिल्लाभर उक्त प्रतिबन्ध लागू रहने जनाएको हो। कार्यालयका अनुसार निर्वाचन अवधिभर कुनै पनि प्रकारका मादक पदार्थको उत्पादन, ओसारपसार, बिक्रीवितरण र सार्वजनिक रूपमा सेवन गर्न पाइने छैन। घरेलु मदिरा उत्पादनसमेत पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ। धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन मदिरा निषेध आवश्यक देखिएको बताए। उनले सूचना विपरीत मदिरा उत्पादन, बिक्रीवितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिए। प्रशासनले होटल, रेस्टुरेन्ट, किराना पसल तथा मदिरा व्यवसायीलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सर्वसाधारणलाई पनि निर्वाचन अवधिभर संयमित रहँदै कानुनको पालना गर्न अनुरोध गरिएको छ। सुरक्षा निकायलाई नियमित अनुगमन र निगरानी कडाइका साथ अघि बढाउन निर्देशन दिइएको प्रशासनले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ।








