
१३ फागुन, धनकुटा । जिल्ला निर्वाचन कार्यालय, धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सर्वदलीय÷सर्वपक्षीय छलफल सम्पन्न गरेको छ ।
छलफलमा निर्वाचन प्रक्रिया, आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्था, मतदान केन्द्र व्यवस्थापन तथा उम्मेदवार र सरोकारवालाबीचको समन्वय लगायतका विषयमा आवश्यक छलफल गरिएको जिल्ला निर्वाचन अधिकृत माधव अधिकारीले बताए । छलफलमा सहभागीहरुले निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिकाप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा आयोजित छलफलमा निर्वाचन सम्बन्धी विविध विषयमा छलफल गरिएको अधिकारीले जानकारी दिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनाम, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले निर्वाचनका लागि अहिलेसम्म भएको प्रगतीको विषयमा जानकारी गराएका थिए । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राई, विभिन्न राजनीतिक दलका प्रमुख तथा उम्मेदवारका प्रतिनिधिहरू, पत्रकार तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







