
९ फागुन, धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रिमा प्रयोग भएका सानाठूला १५ भन्दा बढि सवारीसाधन नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कार देखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ । धनकुटा प्रहरीले लागु औषध ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीसँगै उनिहरुले प्रयोग गरेका सवारीसाधन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा ४ वटा कार, ४ वटा पिकअप, २ वटा जीप, भन्सार छुटमा ल्याएइका आकस्मिक सेवाका २ वटा एम्बुलेन्स तथा २ वटा ट्रक र मिनिट्रक छन् । यी सवारी साधन बिगत चार आर्थिक बर्षका विभिन्न समयमा पक्राउ परेका कारोबारीसँगै जफत गरिएको धनकुटाका प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। कारोबारीहरुले गाँजा ओसारपसारका लागि भारतिय नम्बर प्लेटका गाडीका साथै आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग गर्दै आएको एसपी थापा क्षेत्रीको भनाई छ । नियन्त्रणमा लिइएका सवारीसाधन धनकुटा सदरमुकाममा प्रहरीले पहिले प्रयोग गरेको पुरानो कार्यालय रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयको उत्तरपटि जमिनमा थन्क्याएको छ । केहि सवारीसाधन भने मुलघाट चौकी परिषरमा रााखिएको छ । नियन्त्रणमा रहेका सवारीसाधन कसुरको प्रकृती, परिमाण, संलग्नता र प्रमाणका आधारमा अदालतले गर्ने निर्णय पर्खिएर प्रहरीको रेखदेखमा राखिएको एसपी थापा क्षेत्रीको भनाई छ । अदालतको अन्तिम फैसला आएपछि मात्रै नियन्त्रणमा रहेका सवारीसाधनका बारेमा प्रष्ट हुने उहाले जानकारी दिए।








