९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

Radio Khabar Palika

जनता समाजवादी पार्टी, नेपाल धनकुटाले सार्वजनिक गर्याे चुनावी प्रतिबद्धतापत्र



९ फागुन,धनकुटा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपालका तर्फबाट धनकुटा प्रतिनिधिसभा सदस्य उम्मेदवार आईतराज चेम्जोङले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

पार्टिले शनिवार गरेकाे पत्रकार सम्मेलनमा उनलेआफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन ।‘संघीयता, सुशासन, सामाजिक न्याय, समाजवाद’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा राजनीतिक, पूर्वाधार, पर्यटन तथा विमानस्थल निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । उनले आफूलाई ‘छाता’ चुनाव चिह्नमा मतदान गरी विजयी गराउन अपिल गर्दै विजयी भए संघीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।उनकाे प्रतिबद्धतापत्रमा प्रदेशको नाम ‘कोशी’ खारेजी तथा पहिचानका आधारमा पुनः नामकरणका विषयमा संघीय संसदमा आवाज उठाउने उल्लेख छ । साथै किराँत, लिम्बुवान, शेर्पालगायत पहिचानसम्बन्धी मुद्दामा बहस पैरवी गर्ने जनाइएको छ ।
त्यस्तै धनकुटामा बसोबास गर्ने किराँत–आठपहिरिया समुदायको ऐतिहासिक थातथलो संरक्षण, भाषाको संरक्षण–संवर्द्धन तथा सरकारी कामकाजको भाषा बनाउने पहल गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै धरान–धनकुटा फास्ट ट्र्याक (सुरुङमार्ग) निर्माण अगाडि बढाउने, विभिन्न ग्रामीण तथा मुख्य सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्ने, तमोर करिडोरसँग जोडिने सडक सञ्जाल विस्तार गर्ने योजना अघि सारिएको छ ।राजारानी–बोधे–फलाटार, डाँडाबजार–फाक्सिव–बुढिमोर, मुलघाट–सप्लाहाट–त्रिवेणी, भेडेटार–महाभारत–आहालेलगायतका सडक स्तरोन्नतिलाई प्राथमिकता दिने उनकाे प्रतिबद्धतामा उल्लेख गरिएकाे छ ।

त्यस्तै विभिन्न खोलामा पक्की पुल निर्माण, जोखिमयुक्त क्षेत्रका सडक सुधार तथा ग्रामीण बस्ती जोड्ने सडक विस्तार गर्ने योजना पनि समेटिएको छ ।उनले धनकुटाको बेलहरामा प्रस्तावित विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने उल्लेख गरेेका छन ।

बराहक्षेत्र–आहाले–भेडेटार–राजारानी–मुढेबास–कञ्चनजंगा सम्म समेटेर पर्यटकीय सर्किट निर्माण गर्ने, स्थानीय आदिवासी समुदायको संस्कृति आधारित ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ ।प्रतिबद्धता पत्रमा धनकुटा नगरपालिका क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक स्थल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य पनि राखिएको छ । त्यस्तै उनले कृषिमा आधुनिकिकरण व्यवसायीकरण र बजारिकरणमा परिवर्तन ल्याउने तथा बादर नियन्त्रणमा मा ध्यान दिने प्रतिबद्धता मा उल्लेख छ । धनकुटमा आर्थिक गतिविधि बढाउन ५०० शैयाकाे मेडिकल कलेज देखि समावेशी विकास, स्थानीय पहिचानको संरक्षण र पूर्वाधार विस्तारमार्फत धनकुटाको समग्र विकासमा आफू प्रतिबद्ध रहेको जनाएका छन् ।