
६फागुन,धनकुटा। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनकुटामा सुरू भएको छ। बुधबारदेखि धनकुटा नगरपालिकाको तल्लो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। कक्षा ९ देखि १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भइरहेको आयाेजकले जनाएकाे छ ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल, कबड्डी, मार्शल आर्ट, एथलेटिक्स र विभिन्न दूरीका दौड लगायत करिब ११० विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्नमुख चिन्नतन तामाङ ,अन्य जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरू उत्साहका साथ प्रतिस्पर्धामा उत्रिएका छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताले नगरस्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडी पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।








