२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

Radio Khabar Palika

महाशिवरात्रि को अवसरमा विश्रान्ति मन्दिरमा भक्तजनको घुइँचो



धनकुटा फागुन,३ । महाशिवरात्रिको अवसरमा धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा आइतबार बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको थियो । भगवान शिवको पूजा–आराधना गर्न जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्लाबाट समेत श्रद्धालुहरू मन्दिर पुगेका हुन्।

विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार बिहान सबेरैदेखि नै पूजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ। “हरेक वर्षझैं यस वर्ष पनि श्रद्धालुहरूको उत्साहजनक उपस्थिति रहेको छ,” उनले बताए। जिल्लाका विभिन्न पालिकामा रहेका शिव मन्दिरहरूमा समेत शिवरात्रि विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी धूमधामपूर्वक महाशिवरात्रि मनाउने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार शिवरात्रिमा उपवास बसी रातभर जाग्राम बसेर गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धि प्राप्त हुने तथा यमलोक जानु नपर्ने जनविश्वास छ। भगवान शिवलाई जाडो नहोस् भन्ने मान्यतासहित घर–घर, चोक तथा मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने चलन पनि छ। यसैक्रममा विश्रान्ति मन्दिरमा पनि धुनी जगाउने, भजन–कीर्तन तथा रातभर जाग्राम बस्ने कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। स्थानीय प्रशासनले शान्ति–सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ।