६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

Radio Khabar Palika

बाँदर नियन्त्रणदेखि पूर्वाधार विकाससम्म—धनकुटाका लागि नेकपाको महत्वाकांक्षी एजेन्डा



६ फागुन, धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटाको समग्र विकासका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै जिल्लालाई नमुना बनाउने योजना अघि सारेको छ । प्रतिबद्धतापत्रमा बाँदर नियन्त्रणलाई विशेष एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ । किसानको बालीमा क्षति पुर्‍याउँदै आएको बाँदर समस्यालाई व्यावसायिक व्यवस्थापनमार्फत समाधान गर्ने, मासु तथा सुकुटी उत्पादन गरी निर्यातको सम्भावना खोज्ने प्रस्ताव गरिएको छ । यसका लागि कानुनी आधार तयार पार्ने पहल गरिने उल्लेख छ ।

त्यस्तै, सामुदायिक विद्यालयको गुणस्तर सुधार, अस्पताल स्तरोन्नति, ग्रामीण सडक स्तरोन्नति, सिँचाइ विस्तार, कोल्ड स्टोर र कृषि प्रशोधन केन्द्र स्थापना गर्ने योजना समेटिएको छ । युवालाई स्वरोजगारमा जोड्ने, पर्यटन पूर्वाधार विकास गर्ने तथा सामाजिक न्याय र समावेशितालाई सुदृढ बनाउने प्रतिबद्धता पनि जनाइएको छ । जिल्ला संयोजक कुशुम कुमारी श्रेष्ठले उम्मेदवार पौडेल विकासमुखी र योजनाबद्ध नेतृत्व भएको दाबी गर्दै पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेल उम्मेदवार रहेका छन् ।