
धनकुटा ३ फागुन । महाशिवरात्रि २०८२ को अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा आध्यात्मिक प्रवचन, दीप प्रज्वलन, ध्यान साधना गरिएको थियो। सहभागीहरूलाई महाशिवरात्रिको धार्मिक तथा आध्यात्मिक महत्वबारे जानकारी गराइएको थियो। वक्ताहरूले शिवतत्वको स्मरण र राजयोग ध्यानको अभ्यासले व्यक्तित्व विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताएका थिए।

प्रमुख अतिथि खड्काले यस्ता आध्यात्मिक तथा नैतिक चेतनामूलक कार्यक्रमहरूले समाजमा शान्ति, सद्भाव र अनुशासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले धार्मिक तथा सामाजिक संस्थाहरूले समाज रूपान्तरणमा खेल्ने भूमिकाको प्रशंसा समेत गरे।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, महिला तथा युवा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्थाले महाशिवरात्रि पर्वले आत्मशुद्धि, संयम र सकारात्मक जीवनशैली अपनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेको ब्रह्माकुमारी राजयाेग सेवाकेन्द्रकी सञ्चालक निर्मला ढकालले जानकारि दिईन ।






