
धनकुटा, १ फागुन । जिल्लाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफ।एम।धनकुटा द्वारा हरेक शुक्रबार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा शुक्रबार धनकुटाका क्रियाशिल पत्राकार ईश्वर थापासहित ४ जनालाई पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव एवंम नेपाल टेलिभिजन धनकुटा संवाददाता ईश्वर थापा सहित अन्य ३ जना स्रष्टालाई बार्षिक समारोहमा सम्मान तथा पुरस्कृत गरेको हो ।

कार्यक्रमको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई नगत ५ हजार सहित चियासँग कविता साहित्य पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो । यस्तै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कारबाट कवि घनश्याम बराल औलालि, ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मुर्तिकार मञ्जुल मितेरी र ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा चियासँग कविता संग्रह विमोचन गरिएको थियो । त्यसैगरी, चियासँग कविताको पहिलो श्रृङ्खलादेखि सहभागी सर्जकहरू तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक र अन्य सहयोग पु¥याउने सहयोगीहरूलाई समेत सम्मान गरिएको थियो ।
वार्षिक उत्सवका अवसरमा आयोजना भएको वृहत कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्धाटन कपमा चिया खन्याएर गर्नुभएको थियो ।
बार्षिक उत्सबमा मुकुन्द प्रयास, केजी सुब्बा, द्वारिका रिजाल र रेखा क्षत्रीले विशेष कविता वाचन साथै गायकहरु भुवन डंगोल, गौरवनारायण राई, हेमु स्मृती, जुली खालिङको गायन र ध्रुव एलेक्सको नृत्य प्रस्तुति रहको थियो ।
साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ हरेक शुक्रबार अझ निरन्तर आयोजना हुँदै जाने कार्यक्रमका संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।






