२९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026

Radio Khabar Palika

जोखिमयुक्त घुम्तीका ट्राफिक ऐना तोडफोड, दुर्घटना जोखिम बढ्यो



१. कोशी राजमार्गको धरान–भेडेटार–धनकुटा सडकखण्डका जोखिमयुक्त घुम्तीमा जडान गरिएका २० भन्दा बढी कन्भेक्स ट्राफिक ऐना अज्ञात समूहले तोडफोड गरेको छ। ऐनासँगै अड्याइएका डण्डासमेत भाँचिएका छन्। साँघुरो र घुमाउरो सडकमा यी ऐनाले विपरीत दिशाबाट आउने सवारी देख्न सहयोग गर्दै दुर्घटना न्यूनीकरणमा भूमिका खेलेका थिए।

२. ऐना तोडफोड भएपछि चालकहरू पुनः जोखिममा परेका छन्। चालक ज्ञानबहादुर कटवालले ऐना नहुँदा सवारी चलाउन असहज भएको बताए। स्थानीयले सार्वजनिक सुरक्षासँग जोडिएको सामग्रीमा तोडफोड गर्ने दोषीको पहिचान गरी कारबाही गर्न र तत्काल पुनः ऐना जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

धनकुटा माघ,२९। कोशी राजमार्ग अन्तर्गत धरान–भेडेटार–धनकुटा सडकखण्डका जोखिमयुक्त घुम्तीमा जडान गरिएका कन्भेक्स ट्राफिक ऐना तोडफोड भएको छ। अज्ञात समूहले २० भन्दा बढी सुरक्षा ऐना फुटाएर फाल्नुका साथै अड्याइएका डण्डासमेत भाँचिदिएको स्थानीयले बताएका छन्। साँघुरो, घुमाउरो तथा उकालो–ओरालोयुक्त उक्त सडकखण्ड दुर्घटनाको दृष्टिले संवेदनशील मानिन्छ। विशेषगरी बर्खायाममा बाक्लो कुहिरो लाग्ने र सवारी तथा ढुवानीको चाप बढ्ने हुँदा चालकलाई सवारी सञ्चालनमा थप चुनौती हुने गरेको छ। यस्ता अवस्थामा घुम्तीमा विपरीत दिशाबाट आउने सवारी साधन देख्न सहयोग पु¥याउने कन्भेक्स ऐनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको थियो।स्थानीय क्लब तथा समूहले रकम संकलन गरी ती ऐना जडान गरेका थिए। तर हाल ती ऐना तोडफोड भएपछि चालकहरू पुनः जोखिममा परेका छन्। चालक ज्ञानबहादुर कटवालले ऐना हुँदा घुम्तीमा आउँदै गरेको सवारी पहिले नै देखेर सावधानी अपनाउन सकिने भए पनि अहिले सवारी चलाउन असहज भएको बताए।सार्वजनिक सुरक्षासँग प्रत्यक्ष जोडिएको सामग्रीमा तोडफोड हुनु गम्भीर विषय भएको भन्दै स्थानीयले दोषीको पहिचान गरी कारबाही गर्न तथा तत्काल पुनः ऐना जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।