२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

Radio Khabar Palika

धनकुटामा दिनेश राईको पक्षमा जनलहर उर्लिएको दाबी



धनकुटा, २८ माघ । नेपाली कांग्रेस धनकुटा मूल निर्वाचन प्रचार–प्रसार समितिले धनकुटामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेश राईको पक्षमा जनलहर उर्लिएको दाबी गरेको छ। समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्ने नेताहरूले परिवर्तनगामी मतदाताले यस पटक रुख चिन्हमा मतदान गरी दिनेश राईलाई विजयी गराउने बताएका थिए।कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले नेपाली कांग्रेस रूपान्तरण भएको दाबी गर्दै अब देश निर्माणका लागि धनकुटाबाट दिनेश राईलाई विजयी गराउन मतदातासँग अपिल गरेकी थिइन्। उनले रुख चिन्हमा मतदान गर्न धनकुटेली मतदातालाई आग्रह गरिन। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले परिवर्तनको पक्षमा उभिएर दिनेश राईलाई मतदान गरी विजयी गराउन सबैसँग अनुरोध गरेका थिए। उम्मेदवार तथा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले धनकुटाको विकास र समृद्धिका लागि आफूलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका थिए। मूल निर्वाचन प्रचार–प्रसार समितिका संयोजक विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व सभापति मनोहर नारायण श्रेष्ठ, संविधानसभा सदस्य लिला सुब्बा ,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, कांग्रेस कार्यकर्ता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। सो अवसरमा संयोजक विजय सन्तोषी राईले पटक–पटक अवसर पाएर पनि धनकुटाको विकास गर्न नसक्ने र झुटा आश्वासन दिने नेताहरूलाई यस पटक मत नदिन आग्रह गरेका थिए। उनले परिवर्तनका पक्षमा रहेको र धनकुटाका लागि आवश्यक परे ज्यान दिन समेत तयार युवा उम्मेदवार दिनेश राईलाई विजयी गराउन सबै मतदातासँग अपिल गरेका थिए। साथै प्रेस स्वतन्त्रता र धनकुटेली पत्रकारहरूको अधिकारका लागि पनि रुख चिन्हमा मतदान गर्न सहयोग गर्न पत्रकारहरूलाई आग्रह गरिएको बताइएको छ।