
धनकुटा माघ, २१ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मराज पौडेलले धनकुटा जिल्लाको समग्र विकासका लागि आफ्नो मिशन, लक्ष्य र कार्ययोजना सार्वजनिक गरेका छन्।
आज धनकुटामा पत्रकार सम्मेलन गर्दै पौडेलले सुरक्षित राष्ट्र निर्माण, आत्मनिर्भर कृषि प्रणालीको विकास, ग्रामीण विकास, राष्ट्रिय पूँजीको अभिवृद्धि तथा सामाजिक समानतामा आधारित समृद्ध समाज निर्माणलाई आफ्नो प्रमुख मिशनका रूपमा अघि सारेका हुन । समावेशी, न्यायपूर्ण र विविधतायुक्त नेपाली समाज निर्माणमा जोड दिँदै उनले सुशासन, पारदर्शिता र नैतिक राजनीतिक अभ्यासलाई प्राथमिकता दिने बताएका छन्। उनले वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण, कार्बन उत्सर्जन घटाउने नीति तथा स्वच्छ, स्वस्थ र समुन्नत समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण, जैविक खेती प्रवर्द्धन, सिंचाइ सुविधा विस्तार र कृषकलाई सहज कर्जा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गुणस्तरीय तथा निःशुल्क शिक्षामा पहुँच सुनिश्चित गर्ने, आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउने, औषधि उत्पादन र स्वास्थ्य जनशक्ति विकासमा ध्यान दिने उल्लेख गरिएको छ। जिल्ला स्तरमा सडक सञ्जाल स्तरोन्नति, २४ घण्टा सञ्चालनयोग्य यातायात व्यवस्था, खानेपानी, खेलमैदान, अस्पताल तथा शैक्षिक संस्थाको पूर्वाधार विकास गर्ने योजना सार्वजनिक गरिएको छ। प्राकृतिक विपद् व्यवस्थापन, बाढी–पहिरो नियन्त्रण तथा सुरक्षित बस्ती विकासमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने प्रतिबद्धता पनि जनाइएको छ। पर्यटन प्रवर्द्धनअन्तर्गत धनकुटाका धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलको विकास, कृषि पर्यटन, साहसिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने योजना अघि सारिएको छ। साथै स्वदेश फर्किएका युवालाई स्वरोजगारमा जोड्ने, घरेलु उद्योग स्थापना गर्ने र रोजगारी सिर्जनामा जोड दिइएको छ।
महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदाय तथा पछाडि परेका वर्गको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पौडेलले बताएका छन्। संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै धनकुटाको दिगो विकासका लागि अधिकतम बजेट विनियोजन र कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले जनताको विश्वास र सहयोगको अपेक्षा गरेका छन्।






