
धनकुटा, १८ माघ —धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित गोलखाडी माध्यमिक विद्यालयले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थी खेलाडीलाई सम्मान गरेको छ ।विद्यालयले माघ १५ र १६ गते सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा स्वर्ण पदक प्राप्त गर्ने तथा प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको बताएको छ ।तीन हजार मिटर एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता छात्रा कृष्टिना राई, आठ सय मिटर दौडतर्फ स्वर्ण पदक विजेता छात्रा सन्चिता विक तथा हाइजम्पतर्फ स्वर्ण पदक विजेता छात्रा रन्जना राईलाई विद्यालयको तर्फबाट सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले बताए ।त्यसैगरी प्रतियोगितामा सहभागी सबै विद्यार्थी खेलाडीलाई समेत सम्मान गरिएको र आगामी दिनमा अझ राम्रो तथा स्तरीय खेल प्रदर्शनका लागि शुभकामना दिइएको विद्यालयका खेलकुद इन्चार्ज शिक्षक वीरबहादुर राईले बताए ।यस वर्ष विद्यालयले तीन खेल विधामा स्वर्ण पदक जित्दै पालिका स्तरमा चौथो स्थान हासिल गर्न सफल भएको पनि शिक्षक राईले जानकारी दिए ।सम्मान कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको बताइएको छ ।






