
१० माघ, धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा-का वरिष्ठ नेता बालेन्द्र शाह -बालेन- शनिबार धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्किएका छन्। तय कार्यक्रमअनुसार भीमनारायण चोकबाट मदन चोकसम्म पैदल हिँड्दै मतदाता तथा समर्थकसँग भेटघाट गर्ने योजना भए पनि अन्तिम समयमा स्थगन गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ। बालेन भीमनारायण चोकमा पुगेका बेला सवारीबाट नओर्ली गाडीको झ्यालबाटै केही बेर कार्यकर्ता र समर्थकसँग हात मिलाएर अभिवादन गरेका थिए। रास्वपा धनकुटाले उनको आगमनलाई लिएर केही दिनअघिदेखि प्रचार गरे पनि कार्यक्रम कार्यान्वयन हुन सकेन। रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएकाले धनकुटाको कार्यक्रम स्थगन गरिएको हो। उनका अनुसार आसन्न निर्वाचनअघि बालेनको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिनेछ र उनले पुनः आउने प्रतिबद्धता जनाएका छन्। यसअघि बालेन इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा समर्थक भेटघाटमा जुटिएका थिए। शनिबार बिहान धनकुटा आउनुअघि उनले हिले बजारमा केही समय पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट गरेका थिए। झापा क्षेत्र नं। ५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहेका छन्।






