२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

Radio Khabar Palika

जिल्ला सहकारी संघ धनकुटाको १४औँ वार्षिक साधारणसभा सम्पन्न



धनकुटा, २८ पुस । धनकुटा जिल्लामा हाल ३ सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशील रहेको पाइएको छ। ती सहकारीमार्फत ३७ हजारभन्दा बढी सदस्य आबद्ध छन्। साथै जिल्लामा ४२ वटा सहकारी संस्था महिलाले मात्रै सञ्चालन गरिरहेका छन्। यी तथ्यांक जिल्ला सहकारी संघ धनकुटाको १४औँ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको हो।

साधारणसभामा संघका अध्यक्ष खगेन्द्र सुवेदीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय केही सहकारी सञ्चालकले नियोजित रूपमा सहकारीमार्फत रकम ठगी गर्दा समग्र सहकारी क्षेत्रप्रति जनविश्वास घट्दै गएको उल्लेख गरे। उनले सहकारीको मूल मर्म विपरीतका गतिविधिले समस्या सिर्जना गरेको भन्दै सुधार र अनुशासन आवश्यक रहेको बताए।

यस्तै साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिम्सिनाले आय–व्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमा संघको आर्थिक अवस्था, आम्दानी तथा खर्चको विवरण समेटिएको थियो।१४औँ साधारणसभामा प्रमुख अतिथिका रूपमा बोल्दै प्रदेश सभा सदस्य निरन राईले जिल्ला सहकारी संघ धनकुटाको गतिविधि समग्रमा सकारात्मक रहेको बताए। उनले सहकारीमार्फत बचतकर्ताहरू ठगिएको गुनासो बढ्दै गएको सन्दर्भमा सहकारी संघले आवश्यक पहल र कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। साथै सहकारीलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उनले बताए।साधारणसभामा विभिन्न विषयगत सहकारीका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, सहकारीका सल्लाहकारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।सभाले अध्यक्ष सुवेदीको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ भने लेखा सुपरिवेक्षण समितिका संयोजक तिम्सिनाले प्रस्तुत गरेको आय–व्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन पनि स्वीकृत गरेको जिल्ला सहकारी संघ धनकुटाले जनाएको छ।