२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

Radio Khabar Palika

आवश्यक स्रोत–साधन अभावले अपेक्षित रूपमा काम गर्न कठिनाइ: धनकुटाका पत्रकारको गुनासो



२६ पुस,धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीसमक्ष धनकुटाका पत्रकारहरूले आवश्यक स्रोत–साधन तथा भौतिक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा काम गर्न कठिनाइ भइरहेको गुनासो गरेका छन्।नेपाल पत्रकार महासंघ धनकुटाले मन्त्री पराजुलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरूले महासंघको संस्थागत विकास, सञ्चार माध्यमहरूको सुदृढीकरण तथा पत्रकारहरूको क्षमता विकासका लागि पर्याप्त बजेट र संरचनाको अभाव रहेको अवगत गराएका हुन्।कार्यक्रममा पत्रकारहरूले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणका लागि आवश्यक डिपिआर तयार भइसकेको उल्लेख गर्दै त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन्। साथै धनकुटा जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमहरूलाई संस्थागत रूपमा सबल बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्नुपर्ने, सञ्चारसम्बद्ध कानुन निर्माण गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने, जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका विज्ञापनहरू सम्बन्धित जिल्लाकै सञ्चार माध्यमलाई पहिलो प्राथमिकतामा दिने व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्।नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले धनकुटाले मन्त्री पाएको वर्तमान अवस्थामा पत्रकारहरूको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए।कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले प्रदेशमा पत्रकारहरूको क्षमता विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चालू आर्थिक वर्षमै कोशी प्रदेशमा आम सञ्चार विधेयक पारित हुने जानकारी दिँदै विधेयक पारित भएपछि पत्रकारहरूको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे।मन्त्री पराजुलीले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले पत्रकारहरूको क्षमता विकास, सुशासन र पारदर्शितामा सधैं ध्यान दिने बताए।सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष नगेन्द्र राई, सल्लाहकार रमेशचन्द्र अधिकारी, विनोद घिमिरे लगायतले समानुपातिक विज्ञापन प्रणाली लागू भए स्थानीय सञ्चार माध्यमको संरक्षण हुनुका साथै पत्रकारितालाई व्यवसायिक बनाउन सकिने धारणा राखेका थिए।कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, पूर्व समन्वय प्रमुख टंक चौहान, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल लगायतको उपस्थिति रहेको थियो।