पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको विशेष महाधिवेशन नजिकिँदै जाँदा धनकुटामा पनि चासो र गतिविधि बढेको छ ।
पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको विशेष महाधिवेशन नजिकिँदै जाँदा धनकुटामा पनि चासो र गतिविधि बढेको छ ।
कांग्रेस धनकुटाका सभापति दिनेश राईले परिपत्र जारी गर्दै पार्टीको भविष्य, संगठनात्मक एकता र समसामयिक राजनीतिक चुनौतीबारे निर्णय हुने महत्वपूर्ण अवसर भएकाले सबै महाधिवेशन प्रतिनिधिलाई अनिवार्य रूपमा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

पुस २५,धनकुटा । नेपाली कांग्रेसको विशेष महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र चटारो बढेको छ । पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनप्रति धनकुटामा पनि व्यापक चासो देखिएको छ ।
धनकुटाबाट कुल २६ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । तीमध्ये १७ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन् र उनीहरूले पक्षमा हस्ताक्षरसमेत गरिसकेका छन् । बाँकी ९ जनामध्ये पनि केही विशेष महाधिवेशनको पक्षमा रहेको दाबी नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले गर्नुभएको छ । यद्यपि ती ९ जना हाल संस्थापन पक्षमा देखिएका छन् ।
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले पुस २७ र २८ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । सभापति राईले परिपत्रमार्फत पार्टीको भविष्य र देशको राजनीतिक दिशा निर्धारण हुने महत्वपूर्ण अवसर भएकाले सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरिएको पत्रमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिनुपर्ने भएकाले सबैको गरिमामय उपस्थितिको अपेक्षा गरिएको छ ।
सभापति राईलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निकट मानिन्छ । धनकुटामा हाल महामन्त्री थापा पक्षधर समूह प्रभावशाली रहेको बताइन्छ ।





