१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

Radio Khabar Palika

मुलुकमा अब समाजवाद आउनेः नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक नेपाल



धनकुटा १९ पुस । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा अब समाजवाद आउने दाबी गर्नुभएको छ ।
धनकुटामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गर्नुभयो । युवा, महिला, दलित, पिछाडीएकोवर्गसहित वृद्धहरुको अधिकारका लागि बोल्ने आफूहरु नै रहेको दाबी गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गर्नुभयो । नेपाली कम्यूनिष्ट पार्टिका सह–संयोजक नेपालले वर्तमान सरकारका सामु निर्वाचन बाहेक अर्को बिकल्प नरहेको बताउनु भएको छ । धनकुटामा पार्टीको एकता सन्देश सभामा सम्बोधन पश्चात पत्रकारहरुसगको कुराकानीमा नेता नेपालले सरकारले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन लाई केन्द्रबिन्दुमा राखेर समयमै सम्पन्न गर्नेगरि अघि बढ्नु पर्ने बताउनुभएको हो । नेता नेपालले तोकिएको मितिमा निर्वाचन गर्ने कुरामा तलमाथि नगर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर मुलुकको प्रणालीगत सुधार तथा विगतका बेथिती सच्याउँने कुरामा लाग्नुपर्नेमा उहाँको जोड थियो । जनस्तरमा निर्वाचन हुने नहुने द्विबिधा छ नि, भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले, आफूले निर्वाचन हुँदैन भन्दै हिड्न नहुने तर निर्वाचनका लागि वातावरण बनाउने काम सरकारको भएको जिकिर गर्नुभयो । लोकतन्त्रमा संसद सून्यताको अवस्था स्वीकार्य नहुने भन्दै नेता नेपालले कुनैपनि किसिमको अधिनायकवाद आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । लोकातान्त्रीक शासन र परिपाटीका लागि संसद अनिवार्य भएकाले प्रतिनिधिसभाको निर्वाचन अपरिहार्य रहेको उहाको भनाई छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल, नेकपाका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, चित्र पुन ,धनकुटा संयोजक कुशुम कुमारी श्रेष्ठ ‘जुली’ लगायतले एकतासन्देश सभालाई सम्बोधन गरेका थिए । सभाअघि नेकपाले धनकुटा सदरमुकामा र्याली आयोजना गरेको थियो ।