१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

Radio Khabar Palika

भेडेटारमा तीन दिने १३ औँ फुड फेस्टिबल सुरु



धनकुटा, १६ पुस । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य धनकुटाको भेडेटारमा तीन दिने १३ औँ भेडेटार फुड फेस्टिबल सुरु भएको छ। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिबल आयोजना गरेकाे हो। फेस्टिबलको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले भेडेटार पूर्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताए। उनले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरी कोशी प्रदेश पर्यटन वर्ष मनाइरहेको उल्लेख गर्दै भेडेटार फुड फेस्टिबलले पर्यटन वर्षलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूका अनुसार अंग्रेजी नयाँ वर्षमा भारतीय पर्यटकको बिदा हुने भएकाले उनीहरूलाई लक्षित गर्दै फेस्टिबल आयोजना गरिएको हो। भेडेटार आउने विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको संख्या बढी रहेकाले नयाँ वर्षको अवसरमा पर्यटक आकर्षित गर्ने उद्देश्य रहेको उनले बताए। धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको महत्वपूर्ण भूमिका रहेकाले यसको थप प्रचारका लागि फेस्टिबल आयोजना गरिएको हो।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला तथा मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। फेस्टिबलमार्फत ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुने आयोजकको अपेक्षा रहेको छ। फेस्टिबलमा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। फेस्टिबल अवधिभर आगन्तुकलाई भेडेटार आसपासका पर्यटकीय स्थल अवलोकन गराउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। फेस्टिबलको अवसरमा भेडेटारको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै धनकुटा र सुनसरीका एक–एक जना पत्रकारलाई नगदसहित सम्मान गरिएको छ। समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्न उपयुक्त गन्तव्यका रूपमा परिचित छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएन ले भेडेटारको नाम्जे बजारलाई विश्वका उत्कृष्ट १२ गन्तव्यमध्ये पाँचौँ स्थानमा राखेपछि यहाँको पर्यटकीय चर्चा बढेको छ।