१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

Radio Khabar Palika

धनकुटामा आदिवासी समुदाय लक्षित वातावरणीय तथा जीविकोपार्जन सुदृढीकरण परियोजना सुरु



पुस , १५ धनकुटा । धनकुटा नगरपालिकामा बसोबास गर्ने आदिवासी आठपहरिया राई समुदायको पानी सुरक्षा, वातावरणीय संरक्षण तथा दिगो जीविकोपार्जन सुदृढीकरण गर्ने उद्देश्यसहित सञ्चालन हुने परियोजनाको परियोजना प्रारम्भ तथा सरोकारवाला सहभागिता योजना बैठक सम्पन्न भएको छ।
धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा परियोजना संयोजक डा नवीन भट्टराईले परियोजनाको पृष्ठभूमि, उद्देश्य, कार्ययोजना तथा बजेटबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । परियोजनाको कुल बजेट ४६ हजार अमेरिकी डलर रहेको छ, जसको करिब ८० प्रतिशत रकम प्रत्यक्ष रूपमा समुदायस्तरका भौतिक तथा विकास गतिविधिहरू कार्यान्वयनमा खर्च गरिने संयोजक भट्टराईले बताए। परियोजना अन्तर्गत सञ्चालन गरिने प्रमुख गतिविधिहरूका बारेमा जानकारी दिँदै भट्टराईले पानीका मुहान पुनर्जीवनका लागि रिचार्ज संरचना निर्माण, सिँचाइ प्रयोजनका लागि माटो–सिमेन्ट पोखरी निर्माण, माछापालन पोखरी स्थापना, स्थानीय फलफूल तथा उत्पादनको प्रयोगमार्फत कृषि–पर्यटन प्रवर्द्धन, फलफूलका बिरुवा रोपण, तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
परियोजना ११ महिनाको अवधिका लागि सञ्चालन हुने र अक्टोबर २०२६ मा सम्पन्न हुने जनाइएको छ। यस अवधिमा समुदायको प्रत्यक्ष सहभागितामा प्राकृतिक स्रोत संरक्षण, वातावरणीय पुनःस्थापना तथा आम्दानीका वैकल्पिक स्रोत प्रवर्द्धनमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिनेछ।
बैठकमा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरूले परियोजनाले धनकुटा नगरपालिकामा पानी अभाव न्यूनीकरण, दिगो कृषि प्रणाली प्रवर्द्धन, आदिवासी समुदायको जीविकोपार्जन सुदृढीकरण तथा वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, सरोकारवाला निकायबीच समन्वय, सहकार्य र स्थानीय स्वामित्व सुनिश्चित गर्दै परियोजना सफलतापूर्वक कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख चिन्तन तामाङले स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित यस्ता परियोजनाहरूले दीर्घकालीन विकासमा टेवा पुर्‍याउने उल्लेख गर्दै धनकुटा नगरपालिकाले आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाए। परियोजना ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिट को स्मल ग्रान्ट्स प्रोग्राम अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएन डीपीको सहयोगमा सञ्चालन हुने छ । उक्त बैठककाे मानव अधिकार सामाजिक सचेतना तथा विकास केन्द्र (HUSADEC) का अध्यक्ष सरोज भुजेलले सहजीकरण गरेका थिए ।