
धनकुटा, १५ पुस । धनकुटा नगरपालिकाले नगर क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धनका लागि पर्यटन नीति निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले पर्यटन क्षेत्रलाई व्यवस्थित, दिगो र पहिचानमुखी बनाउन सरोकारवाला निकायसँग राय–सुझाव संकलन गर्दै पर्यटन नीति तथा निर्देशिका निर्माणको काम सुरु गरेको हो। यसैक्रममा धनकुटा नगरपालिकाले पर्यटन नीति तथा निर्देशिका निर्माणका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, पर्यटन विज्ञ, स्थानीय संघसंस्था तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीका अनुसार पर्यटन नीतिका लागि छ वटा मुख्य शीर्षकमा केन्द्रित भएर छलफल गरिएको हो।

अन्तरक्रियामा होमस्टे तथा सामुदायिक पर्यटन, होटल–रेष्टुरेन्ट तथा आतिथ्य सत्कार, पदमार्ग गाइड तथा साहसिक पर्यटन, पर्यटन पूर्वाधार र पहुँच, पर्यटन प्रवर्द्धन र ब्रान्डिङ तथा क्रस कटिङ इस्यु ९समग्र विषयगत मुद्दा० सम्बन्धी विषयमा समूहगत छलफल गराई सुझाव संकलन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले धनकुटा नगरको पहिचान बनेका एभोकाडो खेती तथा आठपहरिया जातिको भाषा, संस्कृति र परम्परालाई पर्यटन ब्रान्डिङसँग जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पर्यटन नीति तथा निर्देशिका निर्माण गर्दा नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूलाई प्राथमिकताका साथ समेट्नुपर्ने सुझाव दिएका छन्। सहभागीहरूले हालसम्म स्पष्ट पर्यटन नीति नहुँदा पर्यटन प्रवर्द्धनमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै शीघ्र पर्यटन नीति निर्माण गर्न आग्रह गरेका थिए। धनकुटाको राणाकालीन इतिहास, गौँडाका रूपमा रहेको ऐतिहासिक पृष्ठभूमि, प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतालाई समेटेर दीर्घकालीन पर्यटन नीति निर्माण गर्नुपर्ने धारणा सहभागीको थियो। अन्तरक्रियाबाट संकलित सुझावलाई आधार मानेर धनकुटा नगरपालिकाले पर्यटन नीति तथा निर्देशिका निर्माण गर्ने तयारी गरेको जनाएको छ। नगरपालिकाले नीति निर्माणपछि पर्यटन क्षेत्रको व्यवस्थित विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेको छ।







