
पुस १२,धनकुटा । धनकुटामा रहेको श्री जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको अविश्वास अन्त्य गर्न सहकारीकर्मी, सञ्चालक समिति र कर्मचारीहरू इमान्दार, पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिएका छन् । उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाल, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, सहकारीका सल्लाहकार यज्ञप्रकाश चापागाईं तथा साथी बचत तथा ऋणसहकारी संस्थाका सचिव रोशन श्रेष्ठलगायतले सहकारी आन्दोलनलाई विश्वासयोग्य बनाउन सबै पक्षको इमान्दार प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा सहकारीमार्फत असल कारोबार गर्ने सदस्य सिलु कार्की र उत्कृष्ट बचतकर्ता अभिनास श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा संगिता राईलाई सम्मान गरिएको छ ।२०६४ सालमा स्थापना भएको जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थामा हाल ७ सय १४ जना शेयर सदस्य रहेका छन् । सहकारीका अध्यक्ष उर्गेन शाक्यका अनुसार संस्थाको कुल शेयर पुँजी ५९ करोड २१ लाख १० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१र८२ मा सहकारीले १ करोड ५२ लाख ४५ हजार ७ सय ९१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ करोड ९३ लाख ६७ हजार ४ सय ५६ रुपैयाँ ऋण लगानी गरेको छ । उक्त आर्थिक वर्षमा सहकारीले २० लाख ३१ हजार ४ सय ४७ रुपैयाँ बराबरको ब्याज उठाउन नसके पनि चालु आर्थिक वर्षमा १ लाख ९४ हजार २ सय ५ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको अध्यक्ष शाक्यले जानकारी दिए।






