१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

समाजसेवी रिजालद्वारा जिल्ला अस्पताल धनकुटालाई ३० थान बस्ने चकटी सहयोग



पुस १२, धनकुटा । धनकुटा नगरपालिका–४ देव्रेवासका पूर्व शिक्षक तथा समाजसेवी जगदनाथ रिजालले जिल्ला अस्पताल धनकुटालाई ३० थान बस्ने चकटी सहयोग गरेका छन् ।
चिसो याम सुरु भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई पुर्जा काट्न लामो समय कुर्सीमा बस्नुपर्दा चिसोको समस्या हुने देखिएपछि उनले कुर्सीमा ओछ्याउन मिल्ने चकटी वितरण गरेका हुन् । उक्त सामग्री अस्पतालका प्रमुख डा। सन्तोष राईलाई हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण गर्दै समाजसेवी रिजालले आफू पनि कुनै समय बिरामी भएर अस्पताल आउँदा लामो समय चिसो कुर्सीमा बस्दा थप समस्या भोग्नुपरेको अनुभव सुनाए । सोही अनुभवका आधारमा अन्य बिरामीलाई चिसोका कारण थप समस्या नहोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।
निस्वार्थ भावनाका साथ अस्पताल आउने बिरामीलाई सहजता मिलोस् भन्ने सोचले समाजसेवाको भावना अनुरूप चकटी वितरण गरिएको रिजालको भनाइ छ । फलामका कुर्सी चिसो हुने भएकाले धेरैबेर बस्दा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै यस प्रकारको सानो सहयोगले अरूलाई पनि समाजसेवामा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।अस्पतालका प्रमुख डा. सन्तोष राईले समाजसेवी रिजालप्रति धन्यवाद ज्ञापन गर्दै यस सहयोगले बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताए ।