१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

Radio Khabar Palika

धनकुटामा पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमसहित मनाइयो



पुस ११, धनकुटा । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठ नागरिक तथा वडा–पालिका समितिलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका–५ स्थित ज्ञान मन्दिरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गरिएको हो । ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाले ज्येष्ठ नागरिकको योगदानको स्मरण गर्दै सम्मान प्रकट गरेका थिए ।

नेपाल सरकारले प्रत्येक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेको छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई मासिक १०० रुपैयाँ भत्ता दिन सुरु गरिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । यसले राज्यबाट ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक सुरक्षाको पहललाई स्मरण गराउँछ । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुले स्थानीय सरकार र राज्यका निकायबाट पाउनुपर्ने जति सहयोग, सेवा तथा स्रोत नपाएको भन्दै गुनासो व्यक्त गरेका छन् । स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनका लागि थप पहल आवश्यक रहेको उनीहरूको भनाइ छ । दिवसको अवसरमा वक्ताहरूले ज्येष्ठ नागरिकलाई परिवार, समाज र राज्यबाट थप सम्मान, संरक्षण र अवसर दिनुपर्नेमा जोड दिएका छन् । साथै, ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाज विकासमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद खडका , जिल्ला स्थित सुरक्षा अंगका प्रमुखहरु , विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि र जेष्ठ नागरीकहरुको उपस्थिती रहेको थियो ।