१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

Radio Khabar Palika

पाख्रीवासमा विद्यार्थीबीच लोकनृत्य प्रतियोगिता सम्पन्न (फोटो फिचर )



पुस १२, धनकुटा । धनकुटाको पाख्रीवासमा प्याब्सन (निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल) मा आवद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

पाख्रीवास नगरपालिकास्थित शितलादेवी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले नेपाली लोक तथा आधुनिक लयमा आधारित आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विविध भेषभूषा, मौलिक चाल र तालमार्फत नेपाली कला, संस्कार र संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए ।

नृत्य प्रस्तुतिमार्फत विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, सिर्जनात्मकता र सामूहिक कार्यक्षमताको समेत उत्कृष्ट प्रदर्शन भएको आयोजकको भनाइ छ । प्रतियोगितामा धनकुटाका दीप, निलगिरी, मदरल्याण्ड, मनकामना, शितलादेवी, सयपत्री, दीपज्योति, सगरमाथा, तमोरभ्याल्ली लगायत ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।

कडा प्रतिस्पर्धाबीच शितलादेवी माध्यमिक विद्यालय प्रथम, सयपत्री माध्यमिक विद्यालय दोस्रो, तथा मदरल्याण्ड र तमोरभ्याल्ली विद्यालय संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।विजयी प्रतियोगीहरूलाई पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र प्याब्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा नगर प्रमुख गुरुङले विद्यार्थीहरूको बहुआयामिक विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप अत्यन्त महत्वपूर्ण हुने बताए ।प्याब्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले विद्यार्थीहरूको कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै मानसिक र बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । साथै विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापप्रति रुचि बढाउने र सृजनात्मक क्षमताको विकास गराउने लक्ष्यसहित आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

Screenshot