९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

Radio Khabar Palika

नेपालीकम्युनिष्ट पार्टीको एकता सन्देश अभियान धनकुटामा, पुस १३ गते कार्यक्रम हुने



पुस ९ धनकुटा । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा एकता सन्देशसहितको कार्यक्रम गर्ने जानकारी दिएको हो। कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले सम्बोधन गर्ने बताइएको छ । देशका ७ वटै प्रदेशमा एकता सन्देश कार्यक्रम सम्पन्न भइसकेको र कोशी प्रदेशमा मंसिर १५ गते बृहत् कार्यक्रम गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सोही अभियान अन्तर्गत धनकुटा जिल्लामा पनि जिल्ला स्तरीय संगठनात्मक संरचना तयार गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा जुलुस, प्रदर्शन तथा जनसम्बोधनसहित कार्यक्रम आयोजना गरिने पार्टीका केन्द्रिय सदस्य धर्मराज पौडेलले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूबीच भएको एकताले जनतामा नयाँ जोश, जाँगर र उत्साह पैदा गरेको पार्टीको दाबी छ। धनकुटा जिल्लाका सातै स्थानीय तहमा समेत एकता सन्देश कार्यक्रम सञ्चालन गरिने बताइएको छ। पार्टीले सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई कार्यक्रम सफल बनाउन सहयोगको अपिल गर्दै पुस १३ गते हुने एकता सन्देश कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध समेत गरिएको छ ।