२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

Radio Khabar Palika

धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा कमी



धनकुटा, २४ मंसिर। धनकुटामा यस वर्ष मानव अधिकार उल्लंघनका घटनामा कमी आएको इन्सेक धनकुटाले जनाएको छ। नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन(पूर्व आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार गत वर्षको तुलनामा घटनामा उल्लेखनीय कमी आएको हो।

इन्सेक धनकुटाका प्रतिनिधि ईश्वर थापाका अनुसार सन् २०२५ मा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७१ घटना अभिलेख गरिएको छ। जसमा बालअधिकारविरुद्ध ७, हत्या १, कुटपिट १ तथा महिलाविरुद्ध हिंसाका ६२ घटना रहेका छन्। सो घटनामा ७१ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ।गत वर्ष भने जिल्लामा ९९ वटा घटना अभिलेख भएकामा यस वर्ष घटेर ७१ पुगेको थापाले बताए। वर्षपुस्तकका लागि २०२५ जनवरीदेखि डिसेम्बर ९ सम्मका घटनाको समीक्षा गरिएको हो।७७औँ विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा मानवअधिकारको अवस्था र संरक्षणमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो। त्यस्तै, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनसमेत सोही अवसरमा गरिएको थियो।

अन्तरक्रिया कार्यक्रम गैसस महासंघ धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटा, मानव अधिकार एलाइन्स धनकुटा, इन्सेक धनकुटा र हुसाडेक नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा गैसस महासंघ धनकुटाका अध्यक्ष मिनप्रसाद सुवेदीले ‘मानवअधिकार रक्षामा नागरिक समाजको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरे। धनकुटा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख फूलमाया तामाङले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत भएका गतिविधिबारे जानकारी गराइन्।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल लगायातले मन्तव्य व्यक्त गरेका थिए। विभिन्न संघ(संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता थियो।