९ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025

Radio Khabar Palika

जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य सेवासम्बन्धी सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक



८ मंसिर , धनकुटा । जिल्ला अस्पताल धनकुटाको आ.व. २०८१÷८२ को सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत अस्पतालको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । अन स्टेप अहेड फाउण्डेसन काठमाण्डौको सहजिकरण र जिल्ला अस्पताल धनकुटाको आयोजनामा भएको उक्त कार्यक्रममा अस्पतालको सेवाको अवस्था, समस्या, चुनौती र सुधारका उपायबारे सरोकारवालाबीच छलफल गरिएको छ । अस्पतालमा ब्लड बैंक, स्तनपान कक्ष तथा क्यान्टिनको अभाव जस्ता प्रमुख समस्या रहेकोले यथासक्य ती विषयलाई सम्बोधन गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन । यस्तै, सरसफाइ कर्मचरीको अभावका कारण अस्पतालजन्य फोहरमैला व्यवस्थापनमा समस्या,बिरामीलाई आवश्यक सेवा दिनका लागि अल्ट्रासाउण्ड गर्न लामो समय कुर्नुपर्ने बाध्यता रहेकोले यसलाई समन्वय गरेर चाडो समाधान गर्नुपर्ने सरोकारवालको जोड रहेको छ ।


अस्पतालको मुख्य सेवाप्रति अधिकांशले सन्तुष्टि र सकारात्मक प्रतिक्रिया दिएका छन । कार्यक्रममा सहभागी जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीय नागरिकले अस्पतालको भौतिक पूर्वाधार सुदृढीकरण, आवश्यक जनशक्ति थप तथा आधुनिक उपकरणको व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । सामाजिक परीक्षणले अस्पताल सुधारका लागि स्पष्ट मार्गदर्शन दिएको भन्दै सहभागीहरूले नियमित अनुगमन तथा वार्षिक सामाजिक अडिटलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष निरेन तामाङले उठेका कुरालाई सम्बोधन गर्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार गर्दै लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।