
५ मंसिर,धनकुटा ।
धनकुटाको पाख्रिबासमा यात्रुबाहक हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटना मध्यपहाडी लोकमार्ग अन्तर्गत पाख्रिबास नगरपालिका–५, भैसेमा आज भएको हो ।
काठमाडौंबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाईस अनियन्त्रित भई करिब ६० देखि ७० मिटर तल खसेको हो । दुर्घटनामा संखुवासभा सभा पोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक दिपेन्द्र बुढाथोकी र खाँदबारी–७ का रत्नबहादुर विक गम्भीर घाइते भएका छन् । उनीहरुलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । अन्य घाइतेहरूमा महालक्ष्मी–३ की प्रहरी जवान सुजाता गिरी, सिलिचुङ–३ की सगिता राई, नरेन्द्र राई, पाँचखपन–९ की लमु शेर्पा, लिम्चुङबुङ–१ उदयपुरकी निर्जला राई, बिनिता राई, जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ तथा भोजपुर–५ साप्लाका पासाङ शेर्पालगायत रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।दुर्घटना स्थल पाख्रिबास बजारबाट झण्डै १९ किलोमिटर उत्तरपूर्व तर्फ पर्छ ।





