३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

Radio Khabar Palika

भेडेटारमा दुई दर्जन होटल र पसलको संयुक्त अनुगमन



२७, कार्तिक,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारमा सञ्चालित होटल तथा किराना पसलहरूको संयुक्त अनुगमन गरिएको छ । बिहीबार करिब दुई दर्जन होटल र पसलहरू अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा किराना पसलहरूमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि जफत गरिएका छन् । त्यस्तै, म्याद गुज्रिएका पेयपदार्थ नष्ट गरिएको छ । अधिकांश पसलहरूले मूल्य सूची टाँस नगरेको पाइएपछि तत्काल टाँस गर्न निर्देशन दिइएको छ । साथै, आगामी अनुगमनमा कैफियत भेटिए कारबाही गर्ने चेतावनी पनि दिइएको छ । होटलहरूमा भने भान्सा कोठा सफा र व्यवस्थित गर्न, मसला जन्य वस्तु खुला रूपमा भण्डारण नगर्न, भाँडा धुने स्थान उपयुक्त र सफा राख्न, र खाद्य स्वच्छता कायम गर्न निर्देशन गरिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षक सुशील कोईरालाका अनुसार होटल व्यवसायीहरूलाई खाद्य स्वच्छता सम्बन्धी जनचेतनामूलक सामग्री पनि वितरण गरिएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरू सहभागी थिए । भेडेटारमा सञ्चालित तीन वटा किराना पसल, दुई वटा मार्ट र १५ वटा होटलको अनुगमन गरिएको थियो ।