
२७ कार्तिक, धनकुटा । धनकुटा सदरमुकाम सल्लेरीमा रहेको ऐतिहासिक पानढीकी टक्सार सर्वसाधारणका लागि खुला गर्ने तयारी सुरु भएको छ। तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं.१९७८ सालमा सञ्चालनमा आएको पानीचक्कीबाट चल्ने यस टक्सारमा दुई र पाँच पैसाका ढ्याकहरू छापिने गरेका थिए।
हाल यो टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको छ। लामो समयदेखि ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यसलाई सर्वसाधारण र पर्यटकका लागि खुला गर्नुपर्ने माग उठ्दै आएको छ। तर सुरक्षा संवेदनशीलताका कारण अहिलेसम्म आम जनताका लागि भ्रमण वा अवलोकन खुला गरिएको छैन।यस वर्ष पुरातत्त्व विभागले टक्सार घरको संरक्षण र जिर्णोद्वारका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ। हाल नेपाली सेना, पुरातत्त्व विभाग, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवालाबीच यस विषयमा छलफल सुरु भएको छ।

नेपाली सेनाको भीमदल गणका गणपति गणेश थापाले टक्सार घर मर्मतका काममा सेनाले सहजीकरण गर्ने बताए। तर संचालन मोडालिटी र सर्वसाधारणका लागि खुला गर्ने विषयमा विस्तृत छलफल र सेनाको लिखित अनुमति आवश्यक हुने उनले स्पष्ट पारे।त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले टक्सार घरको संरक्षण र संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन -डीपीआर- आवश्यक पर्ने बताए। उनका अनुसार पानढीकी टक्सारको स्वामित्व र संचालन जिम्मेवारी — नगरपालिका, प्रदेश संग्रहालय वा पुरातत्त्व विभाग — कसले लिने भन्ने विषयमा स्पष्ट टुंगोमा पुग्नुपर्ने छ।धनकुटाको सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने पानढीकी टक्सार खुला भएमा यसले पुरातात्त्विक अध्ययन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सरोकारवालाहरूको विश्वास छ।





