
४ असोज,धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा शनिबार साँझ धनकुटा–७ स्थित युवाको बोट, ग्रीन पार्कमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जेनजी आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र र स्वतन्त्रताको मूल्य र मान्यताप्रति सम्मान व्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

कार्यक्रममा सुरुमा सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि सहभागीहरूले पंक्तिबद्ध हुँदै दीप प्रज्वलन गरी शान्ति, सहिष्णुता र लोकतान्त्रिक मूल्यको निरन्तरता रहोस् भन्ने कामना गरे। जिल्ला कार्यसमितिका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरू, वडाध्यक्षहरू, महिला तथा युवा संघका प्रतिनिधि, व्यापारी, शिक्षक, समाजसेवी, विद्यार्थी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले सहिदका बलिदानलाई सम्मान गर्दै लोकतन्त्रको रक्षा र सुदृढीकरणमा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। नेताहरूले हालको राजनीतिक परिप्रेक्ष्यमा युवा पुस्ताको सक्रियताबिना स्थायी सुधार सम्भव नहुने बताए। उनीहरूले जेनजी आन्दोलनले नेपाली समाजमा ल्याएको चेतनालाई बलियो बनाउँदै सहिदको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गरे। दीप प्रज्वलन जस्ता कार्यक्रमले नयाँ पुस्तालाई लोकतान्त्रिक आन्दोलनको इतिहास बुझ्न र देशप्रतिको उत्तरदायित्व महसुस गर्न प्रेरणा दिने सहभागीहरुले बाएका छन । उनीहरुले सहिद आत्माको चीर शान्तिको कामना गर्दै लोकतन्त्रको संरक्षण, सामाजिक सद्भाव र समानताको पक्षमा निरन्तर लागिरहने साझा प्रतिज्ञा गरेको कांग्रेस सभापती दिनेश रार्यले जानकारी दिए ।
