
१ असोज,धनकुटा । अन्तरिम सरकार जनताको विजय होईन,विदेशीको हस्तक्षेपको उत्पादन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति धनकुटाले जनाएको छ । बुधबार धनकुटामा पत्रकार सम्मेलन गर्दै पार्टीले हालको राजनीतिक परिस्थिति र जनआन्दोलनका मुद्दाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । पार्टीका अनुसार देशको इतिहासमा देखिएको ताजा जनआन्दोलन दलाल संसदीय व्यवस्थाविरुद्धको महत्वपूर्ण मोडको रूपमा विकसित भएको छ, जसले भ्रष्टाचार, बेरोजगारी, शिक्षा–स्वास्थ्यको समस्या जस्ता मुद्दा उजागर गरेको छ।

पाटिद्वारा जारि विज्ञप्तिमा भनिएको छ विदेशी हस्तक्षेप र दलाल शक्तिले पुनः जनताको आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। अन्तरिम सरकार जनताको विजय नभई विदेशी हस्तक्षेपको उपज भएको आरोप लगाउँदै, पुरानो राज्य संयन्त्रलाई निरन्तरता दिन खोजिएको दाबी गरिएको छ। पार्टीले नयाँ जननिर्माण परिषद् वा सरकार गठनको आवश्यकता औंल्याउँदै, संविधानको पुनर्लेखन र प्रथम निर्वाचित कार्यकारीको स्थापना अनिवार्य रहेको उल्लेख गरेको छ। साथै, विदेशी हस्तक्षेप र दलाल गठबन्धनको अस्वीकार गर्दै नेपाली युवाशक्ति र जनसमुदायलाई क्रान्तिकारी बाटोमा अघि बढ्न आह्वान गरिएको छ।
विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, आत्मनिर्भरता र जनताको पूर्ण मुक्ति प्राप्त गर्नका लागि पुरानो शासन संरचना उखेल्नुपर्ने निष्कर्ष निकालिएको छ। पार्टीले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ, “विदेशी हस्तक्षेप र दलाल शक्तिलाई परास्त नगरी नेपाली जनताको मुक्ति सम्भव छैन।” धनकुटा जिल्ला समितिका सचिव विशाल सीको हस्ताक्षर रहेको विज्ञप्ति अनुसार, पार्टीले यही आधारमा आगामी आन्दोलनलाई तीव्र बनाउने तयारी गरेको उल्लेख छ ।