
२४ भदौ,२०८२,धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा मंगलबार बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले शान्ति सुरक्षाको अवस्था सुनिश्चित गर्न विभिन्न पाँच बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा वसेको वैठकले नागरिकको ज्यान र धनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै प्रशासनले सार्वजनिक सम्पत्ति, सरकारी कार्यालय, सवारीसाधन, उच्च पदाधिकारीहरुको निवास, संवेदनशील संरचना तथा पेट्रोल पम्प लगायतलाई विशेष सुरक्षा दिने जनाएको हो । राजनीतिक दल तथा सरोकारवालाहरुलाई आ–आफ्नो क्षेत्रबाट शान्ति सुरक्षामा सहयोग पु¥याउन बैठकले आग्रह गरिएको छ । साथै प्रदर्शनकारीलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्न अनुरोध गरिएको छ ।

प्रशासनले शान्तिपूर्ण सभा वा प्रदर्शनका लागि स्थान तोकी त्यहीँ गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको छ । प्रदर्शनलाई असन्तोष व्यक्त गर्ने अधिकारको रूपमा स्वीकार्दै त्यसलाई उत्तेजीत बनाउने वा अशान्ति फैलाउने तत्वलाई भने छुट्याई नियन्त्रण गर्ने जनाएको छ । प्रशासनले सबै पक्षलाई सूचनाप्रवाह र आपसी सहयोगमार्फत धनकुटा जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्न आग्रह गरेको छ । वैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।