
२१ भदौ विराटनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे कुनै कुरा नभएको बताएका हुन । देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गरे। उनले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने बताए । दुई–तिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने उनको भनाई थियो । सामाजिक सञ्जालसम्बन्धी विवादबारे उनले सरकारले बन्द गर्न नभई अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको धारणा राखे । पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किएको बारे सोधिएको प्रश्नमा सभापति देउबाले संविधानले यस बारे कुनै कुरा नबोलेको बताए । कांग्रेस पार्टीको महाधिवेशनको मिति केन्द्रिय समितिले तोक्ने र समयमा नै तोक्ने उनको भनाइ छ ।