
१० भदाै संखुवासभा । पराम्परागत पुस्तकालय प्रणालीलाई बिस्थापन गर्दै संखुवासभाको मुडेमा समुदायको मागमा आधारित बहुआयामिक नमुना पुस्तकालय सञ्चालनमा आउने भएको छ ।
धर्मदेवी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रका रुपमा सञ्चालनमा आउन लागेको उक्त पुस्तकालय जापान सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो । जापान सरकारको तीन बर्षे आयोजना अन्तर्ग नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राबिधिक सहयोगमा पालिकाको वडा नं.३ मुडेमा यो पुस्तकालय सञ्चालनमा आउन लागेको हो । जापान सरकारको दुई करोड ८३ लाख २८ हजार, नगरपालिकाको ५० लाख गरी कुल तीन करोड ३३ लाख २८ हजारमा आयोजना सम्पन्न भएको हो । भवन हस्तान्तरणको काम सकिएकोले यहि भदौ १५ गते बिश्व पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको उत्घाटन हुने श्रोत केन्द्रले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यस पुस्तकालयमा बच्चा देखि जेष्ठ नागरिकहरुले ज्ञान संगै जीवन उपयोगी सिप र अवसरहरुको खोजी गर्न नयाँ शैलीमा पुस्तकालय सञ्चालनमा आउन लागेको श्रोत केन्द्रका सचिव माधव सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम हल सहित बनेको उक्त भवनमा बालबालिका कक्ष,युवा अतिरिक्त कक्ष,महिला कक्ष,अपाङग मैत्री कक्षा,बहुप्राबिधिक कक्ष,आईसिटी कक्ष,पुस्तकालय कक्ष र जोखिम न्यूनिकरण कक्ष रहेका छन् । यस पुस्ताकलयलाई दीगो रुपमा निरन्तर सञ्चालनका लागि यहाँबाट कृषि प्राबिधिक तालिम,मेकानिकल तालिम,होम स्टे,तरकारी प्रशोधन,कम्प्युटर लगाएतका बिभिन्न जीवन उपयोगी तालिमहरु निःशुल्क दिईने तथा नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने धर्मदेवी नगरपालिकाका प्रमुख उदयचन्द्र पौडेलले जानकारी दिनुभयो ।