८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025

Radio Khabar Palika

पात्लेखोला स्थित डुम्रिबोेटे कुलो सिंचाइ आयोजनाले १०० रोपनी कृषि क्षेत्रलाई सिंचित गर्ने



५ भदौ २०८२,धनकुटा।धनकुटा नगरपालिका–६, पात्लेखोला स्थित डुम्रिबोेटे कुलो सिंचाइ आयोजनाको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । आयोजना अन्तर्गत निर्माण सम्पन्न सिंचाइ संरचनाको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र खानेपानी ,सिंचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशका सचिव प्रदिप वान्तवाले संयुक्त रूपमा गर्नुभयो ।


स्वीस सरकारको विकास सहयोग, संघीय सरकार, प्रदेश सरकार, धनकुटा नगरपालिका र स्थानीय उपभोक्ता संस्थाको लागत साझेदारीमा सम्पन्न उक्त आयोजना साना सिंचाइ कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो । २६ लाख ४० हजार रुपैयाको लागतमा सम्पन्न उक्त सिंचाइ आयोजनाले करिब १०० रोपनी कृषि क्षेत्रलाई नियमित सिंचित गर्ने धनकुटा नगरपालिका वडा नं ६ का अध्यक्ष मिलन कुमार खडगीले जानकारी दिनुभयो ।

आयोजनाबाट सो क्षेत्रका किसानलाई आधुनिक सिंचाइ सुविधा उपलब्ध भई कृषिजन्य उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको अध्यक्ष खडगीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख चिन्तन तामाङले आयोजनाको सफल निर्माणले कृषकहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । त्यस्तै, मन्त्रालयका सचिव प्रदिप वान्तवाले स्थानीय, प्रदेश, संघीय तथा अन्तर्राष्ट्रिय निकायबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा यस्ता योजनाले निरन्तरता पाउनुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति, किसान, सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात उक्त योजनाको स्थलगत अवोलोकन समेत गरिएको थियो । धनकुटा जिल्लामा हालसम्म १ सय ७४ वटा योजना सम्पन्न भएका छन । उक्त योजनाबाट ३ हजार ४ सय ३३ हेक्टर जमिनमा सिंचाई सुविधा थपिएको छ भने ७ हजार ३ सय ९५ घरधुरी लाभान्वित भएको आयोजनाले जानएको छ ।