२७ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025

Radio Khabar Palika

सामुदायिक वन दिवसमा उत्कृष्ट सामुदायीक तथा निजि वन धनि पुरस्कृत



२५ साउन २०८२, धनकुटा । सामुदायिक वन दिवस–२०८२, को अवसर पारेर आइतबार उत्कृष्ट वनलाई पुरस्कार वितरण तथा वृक्षरोपण कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट हुन सफल जिल्लाका तीन वटा सामुदायिक र तीन वटा निजि वनलाई डिभिजन वन कार्यालयको तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको हो । सामुदायिक वनतर्फ प्रथम हुन सफल थामडाडा सामुदायिक वनलाई १५ हजार, द्वितीय हुन सफल जेफाले सामुदायिक वनलाई १२ हजार, तृतीय हुन सफल तमोर सामुदायिक वनलाई ८ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । त्यस्तै निजि वनतर्फ प्रथम छ्न्तिाङ वनले १२ हजार , द्वितीय अमृत राना मगरले १० हजार र तृतीय हुन सफल दिनेश श्रेष्ठले ८ हजार नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरेका छन् । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथराई, डिभिजन वन अधिकृत सञ्जिवराज ढकाल , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख ,सामुदायीक वन उपभोक्ता महासंघ धनकुटा अध्यक्ष निल बहादुर थापा लगायतले उत्कृष्ट सामुदायिक वन तथा निजि वनका अध्यक्षसहितको टोलीलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख तामाङले उपभोक्ताले सन्तानभन्दा प्यारो गरेर संरक्षण गरेको कारण आज सामुदायिक वन हराभरा हुन सफल भएको बताए । उनले उपभोक्ताले जोगाएको वनलाई उनीहरूले नै सहज रूपमा उपभोग गर्न पाउने अवस्था नरहेको हुँदा सरकारले उपभोक्ता मैत्री नियम कानुन बनाउन आवश्यक रहेको धाराणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले हिजो फँडानी भएका वनहरू समुदायले जोगाएकै कारण आज हराभरा हुन सफल भएको बताए । समुदायको विकास र विपन्न वर्गको जीविकोपार्जनका लागि सामुदायिक वनले धेरै राम्रा काम गरिरहेको उनको भनाई थियो । यसैगरी कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख ढकालले सामुदायिक वनहरूले सम्पन्न गरेका क्रियाकलापहरूको विभिन्न सूचकहरूको आधारमा मार्किङ गर्ने र सोही आधारमा उनीहरूलाई मूल्याङ्कन गर्ने गरिएको बताए । उनले वनको माध्यमबाट सामाजिक, आर्थिक र वातावरणीय तीन वटै पक्षलाई ध्यानमा राखेर उत्कृष्ट कार्य गरेका सामुदायिक वन तथा निजि वनहरूलाई पुरस्कृत गरिएको जानकारी गराए ।


कार्यक्रममा बोल्दै सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष थापाले वनमा खाली रहेका जग्गाहरूमा वृक्षरोपण गरी संरक्षण र संवर्धन गर्दै वनलाई हराभरा गराउन जरुरी रहेको औँल्याएका थिए । उनले वनको संरक्षणका लागि सरोकारवाला सबै एकआपसमा समन्वय सहकार्य गरेर अगि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे । वन क्षेत्रमा बनेका कतिपय नियम कानुनका कारण धेरै समस्या सृजना भएको हुँदा त्यस्ता नियम कानुनलाई संशोधन गर्न जरुरी रहेकोमा उनको जोड थियो । उक्त कार्यक्रम पश्चात शिलढुङगा सामुदायीक वन परिसरमा फलफूल प्रजातिका बिरुवा पनि रोपण गरिएको छ । डिभिजन वन कार्यालय धनकुटाको आयोजना तथासामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको वन अधिकृत धर्मनाथ यादवले जानकारी दिए ।