
२४ साउन २०८२, धनकुटा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व शनिबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।
यस दिन वैदिक सनातन धर्मावलम्बीले बिभिन्न मन्दिर, नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने प्रचलन छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ । यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।https://www.facebook.com/Khabarpalikanews/videos/1018889616990139