२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

Radio Khabar Palika

साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीनले पाए लालपुर्जा



३१ असार,धनकुटा ।धनकुटाको साँगुरीगढी गाउँपालिकाका ५ जना भूमिहीन सुकुम्वासीले जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाएका छन  ।

गाउँपालिकाले वडा नं ३ का ३ जना, वडा नं.७ का १ जना र वडा नं. ९ का १ जना भूमिहीन सुकुम्वासीले सोमबार लालपुर्जा पाएका हुन । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाले लालपुर्जा साँगुरीगढी गाउँपालिकालाई हस्तान्तरण गरेपछि गाउँपालिकाले भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता पुर्जा वितरण गरेको हो। उनीहरुले लालपुर्जा पाएपछि आफुहरु उत्साहित भएकोे वडा नं ३ की आइतमाया राईले बताईन । लालपुर्जा पाउनेहरुमा आइतमाया राई,कञ्चन माझी र सु नेत्र माझी , वडा नं.७ का विष्णुकुमार राई र वडा नं ९ का दुर्गाबहादुर राई रहेको सागुरीगाढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै पूर्व खानेपानी मन्त्री राजेन्द्र राईले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगले देशभर अभियान चलाएको बताएका छन । उनले भूमिहीनका समस्या समाधानका लागि भूमि आयोग धनकुटा र साँगुरीगढी गाउँपालिका गरेको कार्यप्रति खुशी व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य निरन राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना तथा बधाई दिएका थिए ।