२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

Radio Khabar Palika

सवारी चालकका लागि निःशुल्क आँखा जाँच तथा लायसेन्स चेक शिविर सम्पन्न



२९ असार धनकुटा। “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी; आँखाको सेवामा साझेदारी” भन्ने नारासहित सवारी चालकहरूका लागि निःशुल्क आँखा जाँच शिविर तथा लायसेन्स चेक जाँच कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।

उक्त शिविर २०८२ असार २९ गते (आइतबार) को दिन धनकुटा–७, जिरोपाइँटमा सञ्चालन गरिएको थियो। शिविरमा विभिन्न सवारी साधन चालकहरूले सहभागी भई आँखाको अवस्था परीक्षण गराउनुका साथै आफ्नो सवारी अनुमति पत्र (लायसेन्स) को वैधता समेत जाँच गराएका थिए।

कार्यक्रमको आयोजना नेपाल नेत्रज्योति संघ र डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले गरेका थिए भने जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

शिविरमा आँखाको सामान्य दृष्टि परीक्षण, लक्षण पहिचान, सल्लाह तथा प्राथमिक उपचारको सिफारिस, साथै लायसेन्स जाँच लगायतका सेवा प्रदान गरिएको थियो। आयोजक संस्थाहरूका अनुसार यस्तो कार्यक्रमले सवारी चालकहरूमा स्वास्थ्य सचेतना, सडक सुरक्षाको आवश्यकता र सवारी सञ्चालनका लागि अनिवार्य कागजातको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा धेरैजसो बस, माइक्रो र मोटरसाइकल चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू अझै नियमित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्।

सडक सुरक्षाका लागि दृष्टि परीक्षण अनिवार्य हुनु पर्ने र चालकहरूको स्वास्थ्य नियमित अनुगमन गरिनु पर्ने कुरामा समेत जोड दिईएकाे प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले जानकारी दिए ।