
असार २१,धनकुटा। धनकुटाको पाख्रिवास नगरपालिकाले शिक्षा क्षेत्रमा समर्पित शिक्षकहरूलाई सम्मान गर्दै उत्कृष्ट शिक्षक २०८१ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक प्रक्रिया र मूल्याङ्कन समिति मार्फत छनोटमा परेका ७ जना उत्कृष्ट शिक्षकलाइ नगरपालिकाले सम्मान गरेको हो ।

उनीहरुलार्ई जनही १५ हजार रुपैया नगद सहित सम्मान पत्रले सम्मान गरेको नगरपालिकाका प्रशासकीय अधिकृत ओम बहादुर आलेले जानकारी दिनुभयो ।

सम्मानीत शिक्षकहरूलाई पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरङ, उपप्रमुख नम्रता गौतम, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला लगायतले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गर्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम सञ्चालन गरिएको र यसले अन्य शिक्षकहरूलाई पनि उत्प्रेरणा मिल्ने नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

नगरपालिकाको यस प्रयासले शिक्षकहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराउनुका साथै सम्पूर्ण शिक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास नगरपालिकाले लिएको प्रमुख गुरुङले बताए ।

सम्मानित हुने शिक्षकहरुमा रञ्जित प्रसाद गुरागाई,टेकमणी पौडेल, निरु श्रेष्ठ, दिपेन्द्र राई,दिपकला तामाङ, मातृकादेवी काफ्ले र गिता पौडेल रहेको नगरपालिकाले जनाएको छ ।

