१५ जेष्ठ २०८२, बुधबार | Wed May 28 2025

Radio Khabar Palika

अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलनमा ५ देशका प्रतिनिधिको सहभागिता



१० जेठ, धनकुटा । धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा शनिबारदेखि अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलन सुरु भएको छ । सम्मेलनमा नेपालका साथै भारत, बंगलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ । सहभागिहरुले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरिरहेका छन् ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरे ।कार्यक्रममा बोल्दै उनले ज्योतिष काउन्सिल बनाएर काम गर्नुपर्ने बताए । उनले ज्योतिषको नाममा दुरुपयोग भइरहेकोले काउन्सिल बनाएर नियन्त्रण र नियमन गनुपर्ने बताएका हुन। उनले विभिन्न देशमा ज्योतिष र वास्तुको आधारमा काम भइरहेकोले बताउँदै ज्योतिष शास्त्रमा केही अन्ध विश्वास भएकोले त्यसलाई हटाउनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले तान्त्रिक अध्ययन गर्ने केन्द्रिय कार्यालय कोशी प्रदेशमा बनाउन सहयोग गर्ने बताउँदै धनकुटा इलाम लगायतका ठाउँमा बनाउन सकिने धारण राखे । यी सबै संस्कार संस्कृति सम्पदा भएकाले रक्षा गर्नुपर्ने दायित्व सबैको रहेको उल्लेख गरे । फरक प्रशंगमा मुख्यमन्त्री कार्कीले कोशी पर्यटन वर्ष मनाउन सुरु गरेकाले सबैको साथको आवश्यकता रहेको बताए । किराँत धर्म कोशी प्रदेशबाट सुरु भएको त्यसको उजागर गर्दै पर्यटन वर्ष मनाउन थालिएको उनको भनाई थियो । आफूलाई पहिचान विरोधीको आरोप लागेपनि आफू पहिचानको पक्षमा रहेको उनको दावी थियो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खुवालुङको विकासमा काम गरिहरको र किराँत धर्मगुरु आत्मानन्द लिङदेनको बसोबास भएको इलाममा विकासको काम गरिरहेको जानकारी गराए । महागुरु फाल्गुनन्दको नाममा पाँचथरमा ६८ किमी लामो पदमार्ग निर्माण भइरहेको, धनकुटा र तेह्रथुममा १ सय किमीको लालिगुराँश पदमार्ग, इलाममा २० किमीको चियाबारी पदमार्ग र बराहक्षेत्रबाट भोजपुर खोटाङ हुँदै १ सय ६८ किमी लामो मुन्धुम पदमार्ग निर्माणको काम भइरहेको उनले जानकारी दिए । धार्मिक पर्यटन प्रवद्र्धन, सबै विभिन्न ज्योतिष विधामा अनुभव, आदानप्रदान, ज्योतिषको जिज्ञासाहरूको समाधान, ज्योतिष आचारसहिंताको कार्यान्वयन गर्न र ज्योतिषी गुरुहरूलाई विभिन्न अवार्डद्वारा सम्मान वितरण गर्दै विश्व ज्योतिष महासंघको आयोजनामा सम्मेलन सुरु भएको हो। आगामी १२ गतेसम्म सञ्चालन हुने सम्मेलनमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, नेपाल ज्योतिष परिषदका अध्यक्ष कमलप्रसाद काफ्ले लगायतका ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको छ। सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्रको पूर्वीय दर्शनका विभिन्न क्रियाकलाप सञ्चालन हुने बताइएको छ।